केही नदीहरुमा तीन दिनसम्म बाढीको जोखिम

 असार २६, २०८१ बुधबार १०:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । यी नदी तटीय क्षेत्रमा पनि अति उच्च सतर्कता अपनाउन भनिएको छ । भोलि र पर्सि बाग्मती र यसका प्रमुख सहायक नदीहरू साथै बबई र पश्चिम राप्ती नदीहरुमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज मधेस र कोशी प्रदेशका धेरैजसो जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकश्मिक बाढीको उच्च जोखिम छ । त्यस्तै अन्य जिल्लाहरु मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, नवलपरासी, कपिलवस्तु, रुपन्देही र आसपासका जिल्ला भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकश्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

त्यस्तै सप्तरीको खाँडो खोला र बलान खोलामा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा आज दिउँसो चार बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ । 

त्यस्तै मोरङको हरैँचा, उदयपुरको कटारी र उदयपुरगढी, सिराहाको गोलबजार र महोत्तरी गौशाला वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले ती क्षेत्र हुँदै बहने स–साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया