हिजो पहिरोले त्रिशूलीमा बगाएको बसका एकजना यात्रुको शव भेटियो, अरूको खोजी चल्दै

 असार २९, २०८१ शनिबार १६:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा भारतीय नागरिक ऋषिपाल साहको शव भेटिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।

गोलाघाट, बस खसेको ठाउँबाट ५० किलोमिटर तल पर्छ । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको बैंकको एटीएम कार्ड र आधार कार्डबाट परिचय खुलेको हो । उनी अस्ति रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई उनकै भाइ लगायतका आफन्तले सनाखत गरिसकेका छन् ।

मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान पहिरोले बस बगाएर त्रिशुली नदीमा पुर्‍याउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखेपनि बस र यात्रु भेटिएका छैनन् ।

खोजीमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर टोली परिचालन भएका छन् । स्थानीयले पनि प्रहरी र सेनालाई साथ दिइरहेका छन् । तर त्रिशूली निकै गहिरो रहेको र अहिले बहाव तीव्र रहेकाले पानीमुनि पुगेर खोजी गर्न समस्या भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरेकाे बताउनुभयो । त्रिशूली नदीमा खसेका दुई वटा बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।

सशस्त्रका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी जारी छ । र्‍याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया