त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो, एक जनाको पहिचान खुल्न बाँकी

 असार ३०, २०८१ आइतबार ६:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ । तीन मध्ये दुई वटा शव पहिरोले बगाएका बसका यात्रु रहेका पहिचान भएको र एक जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

पहिचान खुल्नेमा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । साहको शव हिजो बिहान ११ बजे र माझीको शव बेलुका भेटिएको हो । माझीका बुबा र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ ।

मृत भेटिएका दुवै यात्रु काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको बसमा थिए । भारतीय नागरिकको शव दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल र नेपाली नागरिकको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा भेटिएकाे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

हिजो रात परेपछि खोजी कार्य रोकिएको र अब आज बिहान आठ बजेदेखि पुनः शुरु हुने पनि प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । अस्ति शुक्रवार बिहानै भएको घटनामा परेका दुई वटा बसमा गरी कम्तीमा ५१ जना चढेको बताइएको छ । सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए । सुरक्षाकर्मीले अस्ति शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही कपडा मात्रै फेला पारेका थिए ।

हिजो तीन वटा शव भेटिएका हुन् । प्राप्त उपकरण, तालिमप्राप्त जनशक्ति लगायत आफूहरुको सबै समार्थ्य लगाएर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सुरक्षाकर्मीले हिजो पानी भित्र हेर्ने ड्रोन लगायत उपकरण पनि प्रयोग गरेका थिए । तर आफन्तले भने खोजी प्रभावकारी नभएको गुनासो गरिरहेका छन् ।

खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी ५० जना गोताखोर र उनीहरूको सहयोगका लागि थप दुई सय सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्रिशूली नदीमा पानीको सतह कम हुँदै गएका कारण आजको खोजी प्रभावकारी हुने प्रहरीको आशा छ । हराएका बसमा रहेका यात्रुमा कम्तीमा सात जना भारतीय नागरिक र बाँकी मध्ये धेरैजसो रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया