एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

 असार ३०, २०८१ आइतबार ६:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्नुहुने भएको हो । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज बेलुका ५ बजेभित्र दाबी पेश गर्न अस्ति शुक्रवार आह्वान गर्नुभएको थियो । आह्वान अनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रवार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरिसक्नुभएको छ ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने पनि प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

ओली चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएको हो । यसअघि उहाँ २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनिसक्नु भएको छ । नयाँ सत्ता समिकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमा जुटेका छन् ।     

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया