काठमाण्डौ महानगरविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज, उद्धार गरिएकी बालिकालाई महानगरले पढाउनुपर्ने

 असार ३०, २०८१ आइतबार ९:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका, महानगरपालिकाका मेयर र उपमेयरलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा.नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले शुक्रवार रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ ।

परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक घरबाट उद्धार गरिएकी कक्षा ७ मा अध्ययनरत १४ वर्षिया बालिकालाई बालिग नभएसम्म शिक्षा दीक्षा, स्वास्थ्य सेवासहितको संरक्षण प्रदान गर्नुपर्ने उल्लेख भएको बाल कल्याण अधिकारी, शान्ता पहाडीले जानकारी दिनुभयो ।

योसँगै महानगरलाई बालबालिकाको संरक्षण र अधिकारका लागि काम गर्न सहज भएको छ । १४ बर्षकी बालिकाले आफूलाई काम गर्न राखेका व्यक्तिले श्रम शोषण र हिंसा गरेको जानकारी गराएपछि महानगरले उद्धार गरेको थियो । तर बालिका घर जान नमानेपछि उनका पिताले बन्दीप्रत्यक्षीकरण मुद्दाका दर्ता गरेका थिए । बालिकाले काठमाण्डौमै पढ्ने इच्छा राखेपछि अदालतले महानगरले पढाउनुपर्ने आदेश गरेको हो ।

महानगरपालिकाले २३ जना बालिका र २० जना बालक गरी ४३ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न छ वटा संरक्षण गृहमा संरक्षण दिएको जनाएको छ । यसरी उद्धार गरिएका बालबालिका घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्रका बालबालिका हुन् ।

बाल संरक्षणका लागि महानगरपालिकाले अदालतमा चार वटा मुद्दा दायर गरेको छ । यसमध्ये तीन वटा बालिकामाथि भएका यौन हिंसा सम्बन्धित छन् । एउटा दास बनाउन नहुने र बालबालिकाविरुद्धको कसुरसँग सम्बन्धित छ । महानगरपालिकाले नातागोताबाहेक बालबालिका भएमा यस सम्बन्धी विवरण वडा कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया