सिमलताल घटना : थप एउटा शव भेटियो, हिजो भेटिएको अर्को शव बसकै यात्रुको भएको पुष्टि

 असार ३०, २०८१ आइतबार ९:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ । खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाटनजिकै आज एउटा शव भेटिएको छ ।

नदीको टापुमा एउटा शव भेटिएको तर परिचय नखुलेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । हिजो एक भारतीयसहित तीन जनाको शव भेटिएर सनाखत भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार हिजो भेटिएकोमध्ये एक शव चितवनको माडी नगरपालिका–१ का विकास परियारको रहेको खुलेको छ । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

विकास गौरबाट काठमाण्डौको लागि छुटेको बसमा रहेका पुष्टि भएको छ । हिजो सर्लाही बरहथवा नगरपालिका–३ का वर्ष १९ का रमित कुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साहको पहिचान भएको थियो । दुईवटा बसमा कम्तिमा ५० जना यात्रु रहेको आशंका गरिए पनि यकिन विवरण थाहा भइसकेको छैन ।

बस र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ ।

त्यस्तै नम्बर–१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको टोलीले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलै गस्ती गर्दै खोजी गरिरहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया