त्रिशूलीमा बेपत्ता यात्रु र बसको अवस्था ३ दिनसम्म पनि थाहा हुन सकेन, विदेशबाट थप उपकरण ल्याउने तयारी

 असार ३०, २०८१ आइतबार १८:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिमलताल, तस्बिर : नेपाल प्रहरी

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा अस्ति शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ । जम्मा ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु भने सकुशल छन् ।

त्यस्तै वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

हराएका ६२ जनामध्ये आज बिहानसम्म पाँच जनाकाे शव फेला परेको छ । तीमध्ये तीन वटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५८ जनाको अवस्था थाहा हुन सकेको छैन ।

यसैबीच गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित घटनास्थल पुग्नुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया