सिमलताल बस दुर्घटना : ५७ जना यात्रु र दुईवटा बसको अवस्था अझै थाहा हुन सकेन

 असार ३१, २०८१ सोमबार ७:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाण्डौबाट गौरको लागि छुटेका बसमा ३८ जना र वीरगन्जदेखि काठमाण्डौको लागि छुटेका बसमा २७ गरी ६५ जना यात्रु थिए । तीनजना यात्रु पौडिएर बाँच्न सफल भए ।

अस्ति र हिजो भेटिएका पाँचवटा शव बसमा रहेका यात्रुको भएको पुष्टि भएको छ । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ । बाँकी ५७ यात्रुको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

हिजो पूर्वी नवलपरासीको गण्डक नहरमा दुई र पश्चिम नवलपरासीको सुस्तामा एक शव फेला परेको छ । तर ती शवको सनाखत हुन सकेको छैन । हराएका यात्रु र बसको खोजी आज पनि भइरहेको चितवन प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयकाअनुसार धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको छ । खोजीका लागि विदेशी उपकरण प्रयोग भइरहेको छ । पानीभित्र खोज्न सकिने सोनार उपकरण, वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन लगायतका अत्याधुनिक उपकरण प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोनार उपकरणले पानीको गहिराइमा वस्तु पत्ता लगाउन सहयोग गर्छ भने वाटर ड्रोनको सहयोगले नदीभित्रका दृश्य हेर्न सकिन्छ । यी प्रविधि विश्वका अन्य देशमा निकै प्रभावकारी मानिन्छन् । यी उपकरण विदेशमा नबग्ने पानी अर्थात् समुद्रमा परीक्षण भएका हुन्छन्, तर नेपालमा बग्ने पानी अर्थात् नदी खोलामा प्रयोग गर्दा प्रभावकारी नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रीलंका गएर तालिम पाएका दक्ष गोताखो पनि खोजी काममा खटिएका छन् । तर त्रिशूली नदीको तीव्र बेग र धमिलो पानीले खोजी कार्य अत्यन्त कठिन बनाएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया