यी हुन् नयाँ सरकारका मन्त्रीहरू

 असार ३१, २०८१ सोमबार १२:२७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।

यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिनुभएको छ । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।

यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ । यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ । यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त हुनुभएको छ

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको छ ।

२१ सदस्यीय मन्त्रिपरिषद् दलितविहीन बनेको छ भने दुई जना महिला मात्रै मन्त्री बनेका छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया