त्रिशूलीमा हराइरहेका बस र यात्रु खोज्न सोनार डिभाइस प्रयोग, २ सय मिटर तलसम्म हेर्न मिल्ने

 असार ३१, २०८१ सोमबार १३:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेका बस र यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रूपमा देखाउने प्रविधि हो । धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वाससमेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।

यसैबीच बससँगै हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ । दुई वटा बसमा गरी ६२ जना हराएकामा पछिल्ला दुईसहित सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पछिल्लो पटक भेटिएका शव चितवनको भरतपुर–२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपतको रहेको पुष्टि भएको छ । हिजोसम्म पाँच जनाको शव भेटिएको थियो । यस्तै आज अरू चार जनाको शव पनि भेटिएको छ । ती शव बससँगै हराइरहेकाहरूको हो वा होइन भन्ने पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिर : सशस्त्र प्रहरी

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया