नवनियुक्त मन्त्रीहरूकाे निर्णय : सिमलताल बस दुर्घटनाकाे अध्ययन गर्न कार्यदल गठनदेखि, स्थानीय उत्पादनलाई दिवा खाजामा जाेड्नेसम्म

 असार ३१, २०८१ सोमबार १८:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज नियुक्त भएर पदबहाली गरेका मन्त्रीहरूले विभिन्न निर्णय र निर्देशन दिएका छन् । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको छ । पदबहाली गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गर्नुभएको हो । उहाँले शेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकूल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताउनुभयो ।

यस्तै नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्नुभएको छ । लेखकले मन्त्री पद सम्हाल्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । कार्यदलमा तीन वटा सुरक्षा निकायका तीन जना, भौतिक मन्त्रालयका एक जना र सहसचिव रिजाल गरी पाँच जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

यसैबीच नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने निर्णय गर्नुभएको छ । पदबहाली ग्रहण गर्दै उहाँले राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गर्नुभएको हो । निर्णयपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरूपता ल्याउने गरी प्रणालीको विकास गरिने बताउनुभयो । यस्तै पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने निर्णयमा पनि हस्ताक्षर गर्नुभयो । उहाँले खादा तथा माला नलगाई पद सम्हाल्नुभएको छ ।

यस्तै नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गर्नुभएको छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गर्नुभएको छ । पदबहाली गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् । समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।

यसैबीच नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी भने मन्त्रालयभित्रै नपसी फर्कनुपरेको छ । कर्मचारी आन्दोलनका कारण उहाँ मन्त्रालयमा प्रवेशी नगरी फर्कनुपरेको हो । उहाँले केहीबेर कर्मचारीको कुरा सुनेर प्रधानमन्त्री कार्यालयतर्फ जानुभयो । कृषि मन्त्रालयका राजपत्राङ्कित तेस्रो श्रेणाीका प्राविधिक मूलगेटमै धर्ना बसेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया