सुदूरपश्चिम प्रदेशको बजेट पारित नहुँदा समस्या : सरकारले आजदेखि खर्च गर्न र कर उठाउन नसक्ने

 साउन १, २०८१ मंगलबार १२:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको बजेट पारित नहुँदा समस्या भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुन नसकेपछि आजदेखि नयाँ खालको जटिलता देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक वासुदेव जोशीले बताउनुभयो । प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमाथि छलफल भई पारित नभएको, नयाँ आर्थिक वर्ष शुरु भएको तर अध्यादेशमार्फत बजेट ल्याउन ढिलाइ भएका कारण बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको उहाँले बताउनुभयो ।

आजदेखि प्रदेशको राजस्व सङ्कलन र खर्चसम्बन्धी गतिविधिसमेत ठप्प हुने भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री एवम् प्रवक्ता अक्कलबहादुर रावलले प्रदेश प्रमुख काठमाण्डौमा रहेको र अध्यादेशमार्फत आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने सरकारको प्रयासमा समस्या देखिएको बताउनुभयो । गएको असार १ गते आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि त्यसयता प्रदेशसभाको बैठक आह्वानसमेत गरिएको छैन ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता एवम् मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा पर्नुभएको छ । नयाँ सत्तासमीकरणमा आबद्ध दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री रावलले भने मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने जानकारी दिनुभयो । अल्पमतका परेका सोडारीले अहिलेसम्म आफूले विश्वासको मत लिने मिति तय गर्नुभएको छैन ।

तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले यसअघि अघिल्लो महिना असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गर्नुभएको थियो तर बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन । असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, यो समयसम्म बजेट पाए नभएपछि शून्यताको अवस्था आएको छ । 

अन्तिम अपडेट: भदौ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया