अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बङ्गलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासको आग्रह

 साउन २, २०८१ बुधबार १५:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशको ढाकामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको ठाउँ र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूका कारण सुरक्षालाई ख्याल गरेर विद्यार्थीहरूलाई बाहिर ननिस्कन अनुरोध गरेको दूतावासले जनाएको छ । दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित ठाउँमा जान भनेमा वा आफू बसेको ठाउँ प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । दूतावासले नेपाली विद्यार्थीहरू अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

बङ्गलादेशमा विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा ६ जनाको ज्यान गएको छ । अर्को सूचना नभएसम्मका लागि भन्दै बङ्गलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।

सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने युद्ध लडेका मानिसका सन्तानका लागि सरकारी जागिरमा गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए ।

बङ्गलादेशमा एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरिएको छ । यस्तै बङ्गलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ । असन्तुष्ट विद्यार्थीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया