अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

 साउन ४, २०८१ शुक्रबार १२:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध 'च्यानल' को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन आग्रह गरेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र त्यो रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालमा रहेका आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न सीआईबीले आग्रह गरेको हो ।

अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका देशबाट पठाउने रकममा यस्तो समस्या देखिएको सीआईबीले जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै त्यसको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको भन्दै यस्ता गैरकानुनी कार्यको हिस्सेदार नबन्न पनि सीआईबीको आग्रह छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले यसरी रकम आएमा विदेशी मुद्राको सञ्चितिमा ह्रास, पूँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवम् उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जाने बताउनुभयो । विदेशमा वा नेपालभित्र रही अवैध कारोबारमा संलग्न रहेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनसक्ने भन्दै सीआईबीले सचेत पनि गराएको छ ।

वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवम् विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले प्राप्त गरेको रकम को–कसले बैंक खातामा जम्मा गरेको हो, त्यसको जिम्मेवारी स्वयं खातावालाको हुने भएकाले बैंक स्टेटमेन्ट जाँच गरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रुजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा प्रहरीमा जानकारी दिन सीआईबीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया