सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

 साउन ४, २०८१ शुक्रबार १३:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ ।

खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नाै वटा शवको सनाखत हुन सकेको छैन ।

अहिलेसम्म भारतीय नागरिक ऋषिपाल साह, विवेक कुमार, जयप्रकाश ठाकुर र सजाद अन्सारी, चितवनको माडीका विकास परियार, सर्लाहीको बरथहवाका रमितकुशर माझी, भरतपुरको पटहानीका सुदीप विक, बाराको विश्रामपुरका परमानन्द पण्डित, रौतहटको चन्द्रपुरका गणपति बसका चालक किशोरकुमार चौधरी, रौतहटकै गरुडाका अशोककुमार यादव, परोहाका ऋषिकुमार सिंह, बौधिमाईका अमृता कुमारी, पर्साकी चन्द्रप्रभा कुमारी र सर्लाहीको रामनगरका जितेन्द्रराम महराको शव पहिचान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एन्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा खसेका थिए । यी दुई बसमा चालकसहित ६५ जना यात्रु रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अरू ६२ जनामध्ये २३ वटा शव भेटिए पनि अझै ३९ जनाको अवस्था थाहा हुन सकेको छैन ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया