अमेरिकी दूतावासलाई पत्र लेखेकाेबारे उपसभामुख– ‘मबाट कुनै गलत मनसायका साथ काम भएकाे छैन’

 साउन ४, २०८१ शुक्रबार १८:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिनुभएकी उपसभामुख इन्दिरा रानाले आफूबाट कुनै गलत मनसायका साथ काम नभएको बताउनुभएको छ ।

आज एक विज्ञप्ति निकालेर उपसभामुख रानाले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राखिदिन अनुरोध गरेको तर कसैको भिसाका लागि अनुरोध नगरेको बताउनुभएको छ । पदीय मर्यादा विपरीत काम गरेको भन्दै उहाँले आएका प्रतिकिया तथा दृष्टिकोणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु नियोजित कदम रहेको विज्ञप्तिमा उल्लेख छ ।

आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा तानिनुभएको हो । विशिष्ट व्यक्तिहरूलाई विदेश जानुपरेमा भिसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्र मन्त्रालयबाट सबै काम हुने गर्छ । तर उपसभामुख रानाले भने सिधै आफैँ पत्र लेख्नुभएको हो । पत्र सार्वजनिक भएसँगै उहाँको चर्को आलोचना भइरहेको छ ।

राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य हुँदै उपसभामुख बन्नुभएको हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया