पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो

 साउन ५, २०८१ शनिबार ६:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो ।

नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ । खोप शाखा प्रमुख डा. गौतमले पोलियो जीवाणु भेटिएसँगै काठमाण्डौ उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

आउँदो ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । खोप शाखाकाअनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउनेछ । खोप स्वास्थ्यकर्मी र महिला समुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर घरमा दिइने डा. गौतमले जानकारी दिनुभयो ।

पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरहरुको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डाक्टर गौतमले बताउनुभयो ।

सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रुपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया