त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय उद्धार टोलीले काम शुरु गर्यो

 साउन ५, २०८१ शनिबार १८:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र बसमा रहेका यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोलीले काम शुरु गरेको छ ।

चितवन आएको भारतीय उद्धार टोलीले जिल्ला प्रशासन कार्यालयमा घटनाबारे विवरण सुनेपछि नेपालका सुरक्षा निकायको टोलीसहित काम शुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।

असार २८ गते शुक्रवार बिहान पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा गरी ६५ जना यात्रु रहेकामा तीन जनाले ज्यान जोगाएका थिए । बससँगै बगेका ६२ जनाको खोजी गर्दा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ वटा शवको पहिचान भएर आफन्तले बुझेका डिएसपी रिजालले बताउनुभयो । आठ वटा शवको पहिचान हुन बाँकी छ ।

भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टोली प्रविधिसहित खोजीमा आएका हुन् । टोलीमा चारजना गोताखोर छन् । त्यसैगरी तीनवटा सोनार क्यामेरा छन् । भारतीय टोली सात दिनसम्म खोजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । पहिरोमा बगेका बसमा नौ जना भारतीय यात्रु पनि थिए । नौमध्ये चार जना भारतीयको शव भेटिएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया