देशभरका नौ वटा सडक खण्ड पूर्ण अवरुद्ध, मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो

 साउन ८, २०८१ मंगलबार १२:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिरो खस्दा बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

गएरातिदेखिको अविरल वर्षाका कारणले बिहान सडक माथिबाट पहिरो खसेपछि आवतजावत ठप्प भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका जल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसैबीच अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । हिजो बेलुकादेखि परेको वर्षाले करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।

यस्तै म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङको चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ ।

बाढी पहिरो तथा अन्य कारणले देशभरका नौ वटा सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेका छन् । सडक विभागको तथ्याङ्कअनुसार एक सय ६० वटा सडक खण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।

यसैबीच गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पर्वत खण्ड भने खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादी खोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो ।

सुरक्षाकर्मी र लोकमार्गको एक्स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया