काठमाण्डौ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान शुरु हुँदै

 साउन ९, २०८१ बुधबार ६:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ । अभियानका क्रममा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ ।

खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा पुगेर दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।

विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा. गौतमले बताउनुभयो ।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।

यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डा. गौतमले बताउनुभयो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया