काठमाण्डौ उपत्यकामा हैजाको जोखिम, ललितपुरका एक किशोरमा सङ्क्रमण पुष्टि

 साउन ९, २०८१ बुधबार ७:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । ती किशोरमा सङ्क्रमण पुष्टि भएसँगै काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार हैजा सङ्क्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर)मा बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।

त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ ।

पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । हैजा भएका मानिसको दिसाबाट कीटाणु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट अरू मानिसमा पुग्ने गर्छन् ।

पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । डा. पुनका अनुसार निरन्तर पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान डाक्टरको सल्लाह छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया