सौर्य एअरलाइन्सकाे विमान दुर्घटना : शव भोलि बेलुकासम्म आफन्तलाई बुझाइन्छ– स्वास्थ्यमन्त्री

 साउन १०, २०८१ बिहीबार १५:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउने बताउनुभएको छ ।

विमान दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुग्नुभएका मन्त्री पौडेलले अहिले मृतकहरूको फिङ्गर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र हिजो नै चार वटा शवको पहिचान भइसकेको बताउनुभयो । उहाँले शवको पहिचान भए पनि म्याचिङ गर्न बाँकी रहेको बताउनुभयो ।

मन्त्री पाैडेलले आज बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको जानकारी गराउनुभयाे । पहिचान हुन नसकेको शवहरूको भने डीएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने उहाँकाे भनाइ छ ।

स्वास्थ्यमन्त्री पौडेलले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस्ता दुर्घटनाले पर्यटन क्षेत्रमा पनि क्षति पुग्ने बताउनुभयो । उहाँले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने उल्लेख गर्नुभयाे । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने उहाँले बताउनुभयो । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकता छिटै पत्ता लाग्ने पनि उहाँले बताउनुभयो ।

हिजो बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज केही सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया