लुम्बिनी केबलकारमा भदौसम्म 'मर्निङ अफर', हरेक सोमवार बिहान ५ सय रुपैयाँमा टिकट

 साउन १०, २०८१ बिहीबार १८:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी केबलकारले आउँदाे साेमवार साउन साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमवारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी 'मर्निङ अफर' ल्याएको छ ।

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका आठ वटा सोमवारका दिन बिहान साढे ८ बजेदेखि दिउँसाे १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुटसहित 'मर्निङ अफर' ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिनुभयाे ।

केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफर अनुसार पर्यटक र भक्तजनले केबलकारको दुईतर्फी यात्राका लागि पाँच सय रुपैयाँ मात्र तिर्नुपर्ने छ ।

याेबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आमसर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा वसन्तपुरको टप स्टेसनमा शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरूले पाँच सय भारतीय रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गएकाे वर्षकाे जेठ १५ गतेदेखि सञ्चालनमा आएकाे हाे । टप स्टेसनमा जिप लाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका संरचनाहरू रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको दुई प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ ।

लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार र व्यवसाय थप चलायमान भएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल बताउनुहुन्छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया