तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने नवनियुक्त मुख्यसचिव लीलादेवीको प्रतिबद्धता

 साउन ११, २०८१ शुक्रबार ८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रिपरिषद बैठकले हिजो मुख्यसचिवमा नियुक्त गरेपछि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले छोटो समयमा जति सकिन्छ, परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुने भन्दै निजामति सेवामा राम्रै कर्म गरेको परिणामस्वरुप आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ ।

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकोमा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभएको छ । इमानदार भएर काम गरेमा कहीँ न कहीँ मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारी दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको पनि बताउनुभयो ।

निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।’ राज्यबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सबै राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले संसदमा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न आफू लागिपर्ने दृढता पनि व्यक्त गर्नुभयो । वि.सं. २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मनुभएकी गड्तौला वि.सं.२०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको हो ।

उहाँ वि.सं. २०६३ मा उपसचिव, वि.सं. २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ देखि सेवा निवृत्त हुनुहुनेछ । उहाँ नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बन्नुभएको हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया