नेपालमा हुने हवाई दुर्घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

 साउन ११, २०८१ शुक्रबार १५:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकाको चर्चित पत्रिका 'न्युयोर्क टाइम्स' ले नेपालमा निरन्तर हवाई दुर्घटना भइरहनुमा अघिल्ला दुर्घटनालाई बेवास्ता गर्नु मुख्य कारण भनेको छ । हरेक दुर्घटनापछि छानबिन समिति बन्ने भए पनि त्यस्ता समितिले दिने प्रतिवेदन र त्यसको कार्यान्वयनमा गम्भीर कमजोरी भइरहेको पत्रिकाले जनाएको छ ।

अनुसन्धान गर्ने समितिहरूले मौसम, जटिल भू–भाग, पाइलटको अत्यधिक खटाइ, पुराना विमानलगायतलाई कारण देखाए पनि समस्याको मुख्य जरोबारेमा सम्बोधन नै नभएको न्युयोर्क टाइम्सको निष्कर्ष छ । नेपालको हवाई क्षेत्रमा देखिएका समस्याको मुख्य कारण स्वार्थको द्वन्द्व रहेको उल्लेख छ ।

एउटा टाउकोमा दुई वटा 'ह्याट' लगाउँदा समस्या भइरहेको भन्दै पत्रिकाले हवाई सेवा प्रदान गरिरहेका व्यक्ति नै नियामक निकायमा हुनुले घटना दोहोरिएको जनाएको छ । समस्या आउँदा नागरिक उड्डयन प्राधिकरणलाई अनुसन्धान गर्न दिने तर प्राधिकरण हवाई सेवा प्रदायक भएकोले गल्तीका सूचनाहरू लुकाउने जोखिम रहने निष्कर्ष छ ।

यस्तै बीबीसीले पनि अनुसन्धान गर्ने स्वतन्त्र निकाय नहुँदा समस्या दोहोरिरहेको जनाएको छ । एक त समितिले दिने प्रतिवेदनमाथि नै शङ्का रहने र दिएका प्रतिवेदन कार्यान्वयन पनि कसले गर्ने भन्ने प्रश्न रहन्छ । स्थायी प्रकृतिको जाँच तथा सुझाव कार्यान्वयन आयोग चाहिने विज्ञहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी सिकागो महासन्धिले पनि हरेक देशमा विमान दुर्घटनापछि स्वतन्त्र रूपमा अनुसन्धान गर्ने निकाय हुनुपर्ने कुराको परिकल्पना गरेको छ ।

बुधवार भएको सौर्य एअरलाइन्स विमान दुर्घटनापछि पनि सरकारले पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । झन्डै साढे सात दशक लामो नेपालको उड्डयन इतिहासमा बुधवार भएको दुर्घटना एक सय आठाैँ हो । अहिलेसम्म यी दुर्घटनाहरूमा नौ सय ५९ जनाले ज्यान गुमाएको सरकारी विवरण छ ।

न्युयोर्क टाइम्सले आफ्नो लेखमा नेपालको हवाई क्षेत्रले मानिसको ज्यान जाने जस्तो कुरामा पनि बेवास्ता गरिरहेको टिप्पणी गरेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया