काठमाण्डाै–तराई द्रूतमार्गको काम तीव्र : २०८३ सालको चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य

 साउन १२, २०८१ शनिबार १७:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाण्डौ–तराई/मधेस द्रूतमार्ग सडक आयोजनाको काम तीव्र रूपमा अघि बढे पनि केही ठाउँमा जग्गाको कुरा नमिल्दा समस्या भएको छ । नेपाली सेनाले निर्धारित समयमै सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिए पनि केही ठाउँमा जग्गाको कुरा नमिल्दा समस्या भएको हो ।

अहिले द्रूतमार्गको भौतिक प्रगति ३५ र वित्तीय प्रगाति ३६ दशमलव ६६ प्रतिशत रहेको छ । द्रूतमार्ग २०८३ सालको चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो ।

प्याकेजमध्ये द्रूतमार्गको ६ दशमलव ५ किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो ।

प्याकेज नम्बर ११ अन्तर्गत खोकना क्षेत्रमा स्थानीयले जग्गा दिन नमान्दा काम नै शुरु हुन सकेको छैन । आयोजनाको ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसका छन् । परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार छ वटा मध्ये तीन वटा सुरुङ निर्माण भइरहेका छन्, निर्माणाधीन तीन वटा सुरुङमार्गको लम्बाइ छ किलोमिटर छ सय ६९ मिटर रहेकोमा पाँच किलोमिटर पाँच सय २८ मिटर सुरुङ खन्ने काम सकिएको छ ।

अरू तीन वटा सुरुङको डिजाइन तथा पूर्वतयारीको काम जारी छ । ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार वटा पुल खोकना क्षेत्रमा रहेका छन् । खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।

आयोजनाका लागि १७ हजार छ सय ५१ रोपनी जग्गा आवश्यक पर्नेमा पाँच हजार चार सय ८७ रोपनी जग्गा व्यक्तिको जग्गा हो । अहिलेसम्म चार हजार आठ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । ललितपुरको खोकना–बुङ्मती खण्डमा दुई सय छ रोपनी जग्गाको मुआब्जा वितरण भएको छैन ।

द्रूतमार्ग बन्ने क्षेत्रमा ३१ हजार सात सय ४३ वटा रुख काटिएको र यसको सट्टामा सात लाख पाँच हजार पाँच सय ५२ वटा बिरुवा रोपिएका सेनाले जनाएको छ । द्रूतमार्गको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो ।  

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया