पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

 मंसिर ७, २०७५ शुक्रबार ७:४७:१४ | रासस
unn.prixa.net

कास्की – सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ । 

पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँ थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आउनुभएको हो । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुनुहुन्छ । 

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आउनुभएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गर्नुभयो ।  “एसियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित सहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताउनुभयो । 

उहाँले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ  भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताउनुभयो । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उहाँले टीकासमेत लगाउनुभयो । उहाँसँगै रहनुभएका सामाजिक अभियानकर्मी चाइचानाले पनि  पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो । 

उहाँहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गर्नुभएको । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिनुभयो । 

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाउनुभएका डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पुर्‍याउँदै आउनुभएको छ । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा विशेष योगदान पुर्या‍उँदै आउनुभएको उहाँ अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुनुुहुन्छ । 
    
मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताउनुभयो । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनुभएका उहाँले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताउनुभयो ।

पोखरामा उहाँहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गर्नुभएको थियो । उहाँहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राख्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया