इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डाै – ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरूले ‘एकै रथका दुई पाङ्ग्रा’ का रूपमा सहकार्य गरिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवम् अनुकरणीय व्यक्तित्वका रूपमा परिचित छन् । मह जोडीका रूपमा उनीहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । झन्डै आधा शताब्दीसम्म निरन्तर रूपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमानदारिताको उदाहरण हो ।
यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव भने यो जोडीले हाबी हुन दिएनन् । फलतः सहकार्यको झन्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।
यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रूपमा बुझेका छन् । किनकि कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए । ‘हामीले रङ्गमञ्चमा प्रहना गर्याैँ, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यस कारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रूपान्तरण गरेर ‘डिजिटल’ रूपमा उपलब्ध गराएका छौँ’, अभिनेता आचार्यले भने ।
आचार्यले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । ‘दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्याे । हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहिले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरूप प्रस्तुत भइरह्यौँ’, अभिनेता आचार्यले भने ।
यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए । उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताए ।
उनले भने, हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काम एउटै छ, त्यस कारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमानदारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रूपमा यात्रा तय गर्न सकेका हौँ ।
उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरेका थिए । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन् । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् । छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । ‘मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नि, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ’, अभिनेता श्रेष्ठले भने ।
मह जाेडीको कम्पनी ‘मह सञ्चार’ मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिन्छन् । सामान्य सहयोगीका रूपमा शृङ्खलामा काम गर्न जोडिएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गरे । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गरेका छन् ।
‘उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ । उहाँहरूको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रूपमा माया गर्नुहुन्छ’, निर्देशक भट्टराईले भने ।
मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देख्ने/सुन्ने गरेका छन् । टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र भट्टराले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देखेका छन् । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यस कारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ ।
‘उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकि उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यस कारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु’, निर्देशक भट्टराईले भने ।
हास्य कलाकारका रूपमा चिनिएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन् । अभिनेता आचार्यले अभिनय गरेका ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत भएका छन् । यस अगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा मह जाेडी हास्य कलाकारका रूपमा बढी प्रस्तुत भएका निर्देशक भट्टराईले बताए ।
‘उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ । मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रूपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि बिस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवम् सर्वस्वीकार्य कलाकार हुनहुन्छ’, निर्देशक भट्टराईले भने ।
गएकाे वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरू छन् । छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमानदारिता र सम्मान नै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।