बासी खाना बिक्री गर्ने धादिङको रीया होटललाई दुई लाख रुपैयाँ जरिवाना

 साउन १५, २०८१ मंगलबार ९:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्राहकलाई बासी खाना तथा सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा रहेको न्यू रीया होटललाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ ।

खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भनेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौजसमेत गरेको गुनासो छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रिया होटललाई जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार आइतवार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए ।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । अनुगमनमासमेत कैफियत भेटिएको हो । होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरिएको थियो ।

एक हप्ताभित्र तोकिएको जरिवाना तिर्ने गरी छाडिएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवम् उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया