बल्खु खोलाको बाढीले बगाउँदा एक जनाको ज्यान गयो, ललितपुरबाट २४ जनाको उद्धार

 साउन १६, २०८१ बुधबार ११:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – आज विहान काठमाण्डौको बल्खु खोलामा आएको बाढीमा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार काठमाण्डौको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बुल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।

काठमाण्डौ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।

यसैबीच, गएराति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ मा रहेको नेकपा (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

डुबानमा परेका क्षेत्रमा उद्धारका लागि आज बिहान १ बजेदेखि प्रहरी परिचालन गरेर अहिलेसम्म ३ जना  बालक, ८ जना महिला र १३ जना पुरूष गरी विभिन्न ठाउँबाट २४ जनाको उद्धार भएको छ प्रहरीले जनाएको छ ।

 यस्तै ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शङ्खमुल, वडा नम्बर १  कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय वटा कुखुरा मरेका छन् । पहिरोले बाग्मती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया