पहिलो रेटिङमै नेपालले सुखद नतिजा पायो, सदुपयोग र निरन्तर स...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानलका सञ्चालकलाई कारबाही गरेको छ । काउन्सिलकाअनुसार सञ्चारमाध्यमका रूपमा दर्ता, सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको हो ।
दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन वटा युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।
काउन्सिलले हिंसा र आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीकाे साइबर ब्युरोमा पत्राचार गरिएको पनि काउन्सिलले जनाएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिनुभयो । सामाजिक सञ्जाललाई दुरुपयोग नभई सदुपयोग गरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।