देशभरका ९९ प्रतिशत घरपरिवारमा बिजुली पुग्यो, प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्दै

 भदौ १, २०८१ शनिबार १८:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले अहिले देशभरका ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको जनाएकाे छ । प्राधिकरणको ३९ औँ वार्षिकोत्वस समारोहमा कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको र अब प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्ने बताउनुभएको हो ।

आठ वर्षअघि ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा पुगेको र शतप्रतिशत पुर्‍याउन विकट बस्तीको खोजी भइरहेको उहाँको भनाइ छ । सुकुम्बासी, चेपाङ, मुसहर लगायतका विपन्न वर्गलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको घिसिङले जानकारी दिनुभयो ।

आठ वर्षअघि वर्षायाममा दैनिक आठ/नाै घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नु परेको कहालीलाग्दो अवस्थाबाट अहिले दैनिक सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै घिसिङले अब नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताउनुभयो ।

पछिल्लो आठ वर्षमा प्राधिकरणले सबै क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै घिसिङले आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले अहिले वार्षिक १३ अर्ब ३१ करोड रुपैयाँसम्म नाफा कमाइरहेको बताउनुभयो ।  

प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । केही जिम्मेवार व्यक्तिले प्राधिकरणको नाफा कागजी मात्रै हो भने पनि महालेखा परीक्षक जस्तो सवैधानिक निकायबाट हरेक वर्ष बैधानिक लेखा परीक्षण भई प्रमाणित वित्तीय विवरणलाई कागजी मात्रै भन्न नमिल्ने बताउनुभयो ।

विगत आठ वर्षमा विद्युतको महसुल तीन पटक गरी २५ प्रतिशत घटे पनि प्राधिकरणको नाफामा वृद्धि नै भइरहेको छ । आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ । झन्डै २६ प्रतिशत रहेको चुहावटलाई अहिले १२ दशमलव ७३ प्रतिशतमा झार्दा वार्षिक रूपमा १२ अर्ब रुपैयाँभन्दा बढी थप आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

अहिले ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा शुल्क छुट गरेकाे, सिँचाइका लागि प्रति युनिट दुई रुपैयाँमा विद्युत् उपलब्ध भएको लिफ्टिङ खानेपानीमा माग शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया