सहुलियत कर्जा : शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण लिएकाबाट २ कराेड ९५ लाख रुपैयाँ उठेन

 भदौ ३, २०८१ सोमबार १८:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा दिएको एक खर्ब २६ अर्ब रुपैयाँभन्दा धेरै कर्जा बक्यौता बाँकी रहेको छ ।

नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत एक लाख २० हजार दुई सय ७४ जना ऋणीलाई प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये गएको असार मसान्तसम्म एक खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार तीन सय ५६ जना ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

राष्ट्र बैंकका अनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ७१ हजार आठ सय ८३ जना महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड रुपैयाँ कर्जा रहेको छ । यस्तै शिक्षित युवा स्वरोजगारअन्तर्गत प्रमाणपत्र धितो राखेर पाइने कर्जा एक सय ४० जनाले लिएकोमा दुई करोड ९५ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

यस्तै विदेशबाट फर्केर उद्यम गर्न सात सय ७९ जनाले लगेको २४ करोड ६४ लाख, दलित समुदाय उद्यम विकासअन्तर्गत आठ सय २४ जनाले लगेको २८ करोड २४ लाख, प्राविधिक शिक्षा पढ्न ९८ जनाले लिएको २३ लाख, भूकम्पबाट भत्किएका घर पुनर्निर्माणका लागि एक सय चार जनाले लिएको ५७ लाख, एक सय वटा कपडा उद्योगीले लगेको एक अर्ब तीन करोड, सीटीईभीटीबाट तालिम लिएका दुई जनाले लिएको एक लाख र युवा स्वरोजगार उद्यमअन्तर्गत २८ जनाले लिएको ५३ लाख रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारको नीतिअनुसार नेपाल राष्ट्र बैंकले २०७५ सालमा सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा दिनुपर्ने गरी कार्यविधि बनाएको थियो । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया