निगमका ४ मध्ये ३ वटा जहाज 'ग्राउन्डेड', यात्रुको व्यवस्थापन गर्दा एकैदिन १ करोड रुपैयाँ गुम्यो

 भदौ १२, २०८१ बुधबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज 'ग्राउन्डेड' हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाण्डौ, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन् ।

न्यारोबडी ‘सगरमाथा’ मार्फत एक सय ५६ जना यात्रु लिएर काठमाण्डौबाट हङकङ उड्ने जहाज ग्राउन्डेड भएपछि यात्रुलाई दिनभर र्‍याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायु सेवाको टिकट किनेर गन्तव्यमा पठाउने व्यवस्था मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । उहाँले विदेशमा अलपत्र पर्ने यात्रुलाई अन्तर्राष्ट्रिय नियमअनुसार पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले व्यवस्था गरेको उल्लेख गर्नुभयो । उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमाएको छ ।

निगमका प्रवक्ता पौडेलका अनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई/दुई वटा रहेका छन् । तर एउटा वाइडबडी 'सी–चेक' का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । उहाँले अर्काे वाइडबडी सी–चेककै लागि आज बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिनुभयो । यस्तै आन्तरिकतर्फ निगमको दुई वटा 'ट्विनअटर' मध्ये एउटा मात्रै उडानमा रहेको छ ।

चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया