आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

 मंसिर १०, २०७५ सोमबार १३:२१:४६ | रासस
unn.prixa.net

झापा – झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । 

आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो । 

आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली आज बिहान घटनास्थल पुगेको थियो । 

घटनास्थलमा भेटिनुभएका सङ्घीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताउनुभयो । प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासी घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछि मात्र एउटै खाटमा चार जनाको शवको अवशेष भेटिएको जानकारी दिनुभयो । 

खाना खाएर सुतिसकेपछि घरमा एक्कासि आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताउनुभयो । स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो । 

उहाँका अनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगलागी भएको थियो । 

मृतक खनाल आफ्नै ट्र्याक्टर चलाउनुहुन्थ्यो । घर अगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ । प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछि मात्र थाहा पाएको हुँदा आगलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेकोसमेत बताउनुभयो । 

आगलागीमा विस्फाेट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया