मर्स्याङ्दी करिडोरको २२० केभी उदीपुर सबस्टेशन निर्माण सम्पन्न

 असोज २, २०८१ बुधबार १७:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेसीशहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

'ग्याँस इन्सुलेटेड सबस्टेशन (जीआईएस)' प्रविधिमा आधारित उदीपुर सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सबस्टेशनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेशनलाई भने सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली यही सबस्टेशनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित बिजुली प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेशनमा जोडिने छ ।

उदीपुर सबस्टेशनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको बिजुलीलाई उदीपुर सबस्टेशनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युत् गृहको स्विचयार्डमा जोडिएको थियो । सबस्टेशन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेशनभित्र छिराएर मध्यमर्स्याङ्दीको स्विचयार्डतर्फ बिजुली प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेशनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत बिजुली आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताउनुभयो ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने छ ।

आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन वटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेशनसम्मको झन्डै ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेशन निर्माण सम्पन्न भएको छ । तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेशन निर्माणाधीन छन् ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत झन्डै १६ अर्ब रुपैयाँ छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया