पार्टी शुद्धीकरणका लागि एमालेद्वारा आचारसंहिता जारी

 असोज २, २०८१ बुधबार १८:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) ले पार्टी शुद्धीकरणका लागि आचारसंहिता जारी गरेको छ । वार्षिक कार्ययोजना सार्वजनिक गर्दै एमालेले पार्टीभित्र प्रचलित कानून, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखा पर्न थालेको भन्दै आज आचारसंहिता जारी गरेको हो ।

आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूको पक्षमा पार्टीले उदारता देखाएको र पार्टीका बैठकमा कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति बढेको एमालेको ठहर छ ।

एमालेको वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल भएर सचिवालयले अन्तिम रूप दिएको थियो । आचारसंहितामा एमालेले आर्थिक पारदर्शिताका लागि सबै कमिटीले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्न निर्देशन दिएको छ ।

यस्तै आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य–तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्न निर्देशन दिएको छ ।

यस्तै मुद्दाको प्रकृति हेरेर मुद्दा चलाइएकाहरूले कानूनअनुसार छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने र फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने पनि आचारसंहितामा उल्लेख छ ।

यस्तै एमालेको वार्षिक कार्ययोजनामा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण विषय सम्प्रेषण भइरहेको भन्दै त्यसको सङ्गठित रूपमा प्रतिवाद गर्न निर्देशन दिइएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेले वार्षिक कार्ययोजनामा विभिन्न योजना समावेश गरेका छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया