राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो

 असोज ४, २०८१ शुक्रबार १२:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आउँदो असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ८० प्रतिशत छ । आयोजनाको ६ दबमलव २ किलोमिटर लामो सुरुङ खनी कङ्क्रिट लाइनिङको काम धमाधम भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगङ्गा हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले हिजो निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्याहरु झेल्दै आएको आयोजना आउँदो असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँका अनुसार कमजोर तथा जटिल भौगोलिक अवस्थिती, कोभिड–१९को महामारी, भूकम्पलगायतका वाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित ठाउँबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभाव बेहर्नुपरेको थियो । सर्वोच्च अदालतमा २०७८ मा नदीजन्य निर्माण सामग्री उत्खननमा रोक लगाउन मुद्दा परेको थियो । यो मुद्दा विचाराधीन छ । नदीजन्य निर्माण सामग्रीमा देखिएको समस्या अहिले अस्थायी रुपमा समाधान भएको छ ।

आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया