अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओली आजदेखि केही दिन उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने

 असोज ६, २०८१ आइतबार १५:४:५५ | रासस
unn.prixa.net

तस्बिर : रासस

अमेरिका – संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली केही दिन उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुनेभएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गर्नुभएकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।

आजै प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ । उहाँहरुको भेटलाई महत्वका साथ हेरिएको छ । गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज राति प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने र रात्रिभोजमा सहभागि हुने तालिका छ । भोलि सोमवार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

यस्तै, कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ । पर्सि मंगलवार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनुहुनेछ ।

 दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उहाँ र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ । मंगलवार नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमी तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ ।

बुधवार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ ।  यस्तै उहाँले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । बुधवार नै प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री ओली बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । बिहीवार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ । बिहीवार नै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ महासभामा विशेष सम्बोधन गर्नुहुने तालिका छ ।

असोज ११ गते शुक्रवार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ ।

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया