न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता

 असोज ७, २०८१ सोमबार ६:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने सहमति भएको छ । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने बताउनुभएको छ ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र अमेरिकाका लागि नेपालका राजदूत लोकबहादुर थापाको सहभागिता थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस.जयशङ्कर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यसअघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गर्नुभएको थियो । 

यसैबीच संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि भेटवार्ता भएको हो । भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको छ ।

नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो ।उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गर्नुभएको छ ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गर्नुभएको थियो ।

यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गर्नुभएको थियो ।   

 प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्त्व दिनुपर्नेमा जोड दिनुभएको थियो । 

यस्तै प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवम् प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ । 

 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया