अमेरिकाले नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने

 असोज ७, २०८१ सोमबार १८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली किसानहरू लाभान्वित हुने गरी संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँ बराबरको यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाको आज घोषणा संयुक्त घोषणा गरेका छन् ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालका लागि पनि योजना उद्घाटन गरिएको छ । यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले सङ्घीय, प्रदेश र पालिकामार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई जोड दिनेछ । परियोजनाले ६९ हजार वटा घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

यस्तै विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालको योजना २०२४–२०२८ गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यसअन्तर्गत तराई र पहाडका २६ वटा जिल्ला समावेश हुनेछन् ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि आजको उद्घाटन कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयाे । मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवर्द्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै सहकार्यप्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

सन् २०११ देखि चलिरहेको अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा धेरै नेपालीलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवर्द्धन र पोषणमा सुधारका लागि २४ अर्ब रुपैयाँभन्दा धेरै सहयोग गरिसकेको छ । यी पहलहरूले गर्दा कार्यक्रम सञ्चालन भएको जिल्लामा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको अमेरिकाको दाबी छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया