आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह

 असोज १०, २०८१ बिहीबार ६:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ । दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ । महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान आग्रह गरेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी र पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लालाई पनि उच्च सावधानी अपनाउनुपर्ने जिल्लामा राखिएको छ । म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाममा पनि उच्च सावधानी अपनाउन महाशाखाले भनेको छ ।

बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको महाशाखाले जनाएको छ ।

यस्तै उपल्लो वायुमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात असोज २१ गतेसम्म मनसुन कायम रहने मौसमविदको अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया