साउनमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, महँगी घट्यो

 असोज १०, २०८१ बिहीबार १३:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्षको साउनमा भन्दा १८ प्रतिशतले बढेर रेमिट्यान्स एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स झन्डै २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर एक अर्ब दुई करोड डलर पुगेको छ ।

पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३६ हजार नाै सय २८ जना रहेको छ । यो अघिल्लो वर्षको साउनको भन्दा तीन हजार जनाले कमी हो । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६ सय ४७ जना रहेको छ, यो अघिल्लो वर्षको साउनमा भन्दा ६ हजार जनाले धेरै हो ।

यसैबीच साउन महिनामा मूल्यवृद्धि घटेको राष्ट्र बैंकको दाबी छ । साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४ दशमलव १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ७ दशमलव ५२ प्रतिशत रहेको थियो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष साउनमा खाद्य र पेय पदार्थमा ८ दशमलव ९० प्रतिशत र गैर–खाद्य वस्तुको मूल्यमा ६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया