काठमाण्डौ जोड्ने सबै नाका ठप्प, देशभरका अरू सडकमा पनि क्षति

 असोज १३, २०८१ आइतबार ८:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ । देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएकाे छ । कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने बताउनुभयो ।

यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाण्डौ निकालिएको सडक विभागका महानिर्देशक पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया