आज विश्व मुटु दिवस : ‘काम गरौँ, मुटु बचाऔँ’ नाराका साथ मनाईंदै

 असोज १३, २०८१ आइतबार ८:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् ।

विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्याङ्क छ । सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशतभन्दा धरै पुग्ने अनुमान गरिएको छ । आफ्नो स्वास्थ्यमा ख्याल राखेर धुमपान नगर्न, जाँडरक्सी नखान, धेरै गुलियो, चिल्लो र बोसोयुक्त खाना नखान तथा व्यायाम गर्न डाक्टरको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले सबै प्रदेशमा मुटुको उपचार सेवा विस्तार गर्नेे लक्ष्यका साथ काम गर्दै आएको छ । सरकारी अस्पतालमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अप्रेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था छ ।

त्यस्तै ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई पनि मुटुसम्बन्धी अपरेशनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको उहाँको भनाइ छ । अन्य उमेरका मुटुरोग लागेका दीर्घरोगीलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया