सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

 असोज १३, २०८१ आइतबार १३:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशका धेरैजसो राजमार्ग बन्द भएको मौका छोपेर एअरलाइन्सहरूले भाडा महँगो बनाएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।

गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाण्डौ–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ । काठमाण्डौ–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पुरानै भाडामा यात्रु उडाउन आग्रह गर्नुभएको हो । उहाँले पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानका लागि विशेष निर्णय गरेको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया