बाढी पहिरोका कारण निजी क्षेत्रले बनाएका २० वटा जलविद्युत् आयोजनामा क्षति

 असोज १३, २०८१ आइतबार १४:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाढी पहिरोका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । अहिलेसम्म २० वटा आयोजनामा क्षति पुगेको जानकारी प्राप्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पानका अनुसार मकवानपुरमा २२ मेगावाट क्षमताको बाग्मती साना जलविद्युत् आयोजनाको पावर हाउस पूर्णरूपमा डुबेको छ । यस्तै पाँचथरमा २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावर हाउस डुबानमा परेको छ । यस्तै पाँचथरकै १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत्काे बाँधमा क्षति पुगेको छ ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति हुँदा उत्पादन बन्द भएको छ । इलाममा तीन मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ । बाँध र प्रसारण लाइनमा क्षति पुग्दा इलामकै माइखोला जलविद्युत् आयोजनाको उत्पादन पनि रोकिएको छ । पाँचथरको फेमे जलविद्युत् आयोजनाको बाँध र विद्युत् गृहमा क्षति पुगेको छ ।

यस्तै पाँच मेगावाटको लमजुङको सिउरीखोला जलविद्युत् आयोजनाको सुरुङ र इनटेकमा क्षति पुगेको छ । लमजुङकै ४० मेगावाटको सुपरन्यादी जलविद्युत्, धादिङमा २५ मेगावाटको इलेप खोला जलविद्युत्, दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस, पहुँचमार्गमा क्षति र तीन वटा कन्टेनर बगाएको छ ।

यस्तै पाँचथरको हेवाखोला जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण बगेका छन् । पाँचथरकै सभाखोला जलविद्युत् आयोजनाको पावर हाउस पुरिएकाे छ भने पहुँच मार्ग र बाँधमा क्षति पुग्नुका साथै अस्थायी पुल बगाएको छ ।

यस्तै पाँचथरकै सभाखोला सी जलविद्युत् आयोजनाको पहुँच मार्गमा क्षति पुगेको छ, कास्कीको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँच मार्गमा क्षति पुगेको छ भने नुवाकोटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका करोडौं मूल्य पर्ने उपकरण बाढीले बगाएको इप्पानले जनाएको छ ।

यस्तै रसुवाको लाङटाङखोला जलविद्युत्, ललितपुरको ठोस्नेखोला र खानीखोला आयोजना र सङ्खुवासभाको मायाखोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

बाढी पहिरोले जलविद्युत् आयोजनामा अर्बाैं रुपैयाँको क्षति भएको छ । जलविद्युत् आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेको इप्पानले जनाएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया