नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

 असोज १६, २०८१ बुधबार १५:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको 'नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव' विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान गरेको हो । गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत रहेको थियो ।

गएको वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गरेको अनुमान नेपाल सरकारले गरेको अनुमानभन्दा कम र गएको हप्ता एशियाली विकास बैंक (एडीबी) ले गरेको भन्दा बढी हो । नेपाल सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेका छन् ।

यस्तै अर्को वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । राष्ट्र बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले बहुजोखिमहरू पनि पहिचान गरेको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका प्रतिवेदनले औंल्याएको छ ।

यस्तै राष्ट्र बैंकले यो वर्ष मूल्यवृद्धि दर ५ प्रतिशत रहने अनुमान गरेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया