नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

 मंसिर ११, २०७५ मंगलबार १५:५०:४७ | रासस
unn.prixa.net

कपिलवस्तु – नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनिकरणका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनिकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुवै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

सीमावर्ती क्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुल्झाउने प्रयास गर्ने र दुवै पक्षबाट आ–आफ्नो ढङ्गले केन्द्रलाई जानकारी गराउने पनि सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बैठकले भारतीय सीमावर्ती क्षेत्र चाकरचौंडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएको छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ ।

भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा गर्नुभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नम्बर २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमाण्डेन्ट पञ्कजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्यूरोका प्रमुख एमएस रायको ससहभागिता थियो । अबको बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया