व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाताकाे अपमान हाे : एमाले नेतृ पाण्डे

 असोज २८, २०८१ सोमबार १४:५३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनुले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउनुभएको छ ।

पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गर्नुभएको छ ।

व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गर्नुभएको छ ।

‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’  पाण्डेले लेख्नुभएको छ ।

मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्ने विन्दा पाण्डेको माग छ । विवादमा परेका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा पार्टी मुख्यालय बनाउने कार्यप्रति एमालेका अरु नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।

भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले काठमाण्डौको कीर्तिपुरमा १० रोपनी भन्दा धेरै जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले केही दिनअघि भवनको शिलान्यास समेत गरिसक्नुभएको छ ।

मीनबहादुर गुरुङले आउँदो वर्षको घटस्थापनाको दिनसम्म भव्य भवन तयार पारेर एमालेलाई दिने वाचा गरिसक्नुभएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परेको बेला एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले गुरुङको बचाउ गर्नुभएको थियो ।

कतिपयले मीनबहादुर गुरुङले करोडौँ रुपैया खर्चेर एमालेको मुख्यालय बनाइदिन लागेको विषयलाई बालुवाटार जग्गा प्रकरणसँग पनि जोडेर चर्चा गरिरहेका छन् । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया